ललित राजवंशीले कीर्तिमानी बलिङ प्रदर्शन गरेपछि नेपाल पुलिस क्लब अपराजित रहँदै प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
यो पुलिसको प्रतियोगितामा आठौं जित हो । पुलिसले मंगलवार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्यो । पुलिसले दिएको १४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १०३ रनमा अलआउट भयो ।
कर्णालीका लागि रविन्द्र शाहीले सर्वाधिक ४९ र अर्जुन घर्तीले ३० जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कर्णालीलाई सस्तैमा समेट्न ९ ओभरमा ४१ रन खर्चिएका ललितले ६ विकेट लिए । एकै खेलमा ६ विकेट उनले यस प्रतियोगितामा तेस्रोपटक लिएका हुन् । ५ वा सोभन्दा बढी विकेट उनले पाँचौंपटक लिए । यसैगरी उनले पीएम कपमा १०० विकेट पूरा गर्दै कीर्तिमान पनि बनाए ।
त्यसअघि दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएकाे पुलिसले ४८ ओभरमा १४७ रनमा अलआउट भएको थियो ।
पुलिसका लागि अर्जुन साउदले सर्वधिक ३६ तथा दिलिप नाथले ३४ रन बनाए । सागर ढकाल २२ रनमा अविजित रहे ।
कर्णालीका लागि अनुज चनराले ४, दीवन पुनले ३ तथा दीनेश अधिकारी, दीपेन्द्र रावत र सुनिल धमलालले समान १९१ विकेट लिए ।
जितसँगै ८ खेलबाट १६ अंक जोडेको पुलिस लिग चरणको एक खेलअघि नै फाइनलमा पुग्न सफल भएको हो । यता पराजित कर्णालीको ९ खेलबाट ८ अंकसहित प्रतियोगिता टुङ्ग्याएको छ ।
सन् २०१७ देखि अहिलेसम्म लगातार फाइनल खेलिरहेको पुलिसको यो सातौं फाइनल हो । साविक विजेता समेत रहेको पुलिसले ३ पटक उपाधि जितेको छ ।
