विशाल पटेलले ६ विकेट लिएपछि मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि जित हासिल गरेको छ ।
मधेशले मंगलबार सुदूरपश्चिमलाई ४४ रनले पराजित गर्यो ।मधेशले दिएको १०३ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो ।
सुदूरपश्चिमका लागि तल्लोक्रमका ब्याटर हेमन्त धामीले १९ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुनै सकेनन् ।टोलीका ५ ब्याटरले रनको खाता नै खोल्न सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न विशालले ५ ओभरमा १७ रन खर्चिएर ६ विकेट लिए । प्रदिप पासवानले ३ र रुपेश सिंहले १ विकेट लिए ।
त्यसअघि भैरहवाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेश ४२.३ ओभरमा १०२ रनमा अलआउट भयो ।
मधेशका लागि प्रदीप पासवानले अविजित २३, पवन सर्राफले १९, दीपेश दास र रुपेश सिंहले समान १२ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान अनिल शाह रनको खाता नखोल्दै आउट भए ।
सुदूरपश्चिमका शेर मल्लले १० ओभरमा ५ रन मात्र दिएर ४ विकेट लिए । यो पीएम कपमै सबैभन्दा किफायती बलिङ हो । त्यस्तै हेमन्तले ५.३ ओभरमा ११ रन दिएर ४ विकेट लिए । नारायण जोशी र विकास आग्रीले समान १ विकेट लिए ।
जितसँगै मधेशले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । ८ खेलबाट ६ अंक जोडेको मधेश सातौ स्थानमा उक्लिएको छ । पराजित सुदूरपश्चिम ९ खेलबाट ६ अंकका साथ आठौं स्थानमा रहेर प्रतिायेगिताको अन्त्य गरेको छ ।
