लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशले लगातार तेस्रो हार व्यहोरेको छ ।

बुधबार एकस्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसले कोशीलाई १५४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पुलिसले दिएको २८९ रनको बलियो लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १३४ रनमा अलआउट भयो ।

कोशीका लागि सुजन थपलियाले अविजित ३३, कप्तान अंकित सुवेदीले २१, शकिब हकले १७ र फिरदोस अन्सारीले १० रन बनाए ।

पुलिसका करण केसीले ८ ओभरमा २९ रन दिएर ३ विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले समान २ तथा सागर ढकाल, दिपेन्द्रसिंह ऐरी र गुल्शन झाले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८८ रनको योगफल तयार पारेको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ७८ बलमा समान दुई चौका र छक्काको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी दिलिप नाथले ६४ बलमा चार चौका र एक छक्काको मद्दतले ६१, राशिद खान र अर्जुन साउदले समान ३८, दीपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्शनकुमार झाले २१ रन बनाए ।

कोशीका भुपाल लुइटेलले १० ओभरमा ३७ रन दिएर ३ विकेट लिए । प्रकाश कार्कीले २ तथा दिपेश कँडेल, फिर्दोश अन्सारी र शर्वन किस्कुले समान एक विकेट लिए ।

जितसँगै पुलिसले दुई खेलमा चार अंक जोडेको छ । तीनै खेलमा पराजित कोशी अंकविहिन छ । यसअघि पुलिसले लुम्बिनीलाई हराउँदा कोशी लुम्बिनी र मधेश प्रदेशसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *