लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गर्दा बागमती प्रदेशले लगातार दोस्रो फराकिलो हार व्यहोरेको छ ।
भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा आर्मीले बागमती प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
आर्मीले दिएको २ सय ६३ रनको लक्ष्य पछाएको बागमती २७ ओभरमा १ सय २८ रनमा अलआउट भयो ।
आर्मीका लागि विवेक मगरले सर्वाधिक ५१ रन बनाए । इशान पाण्डेले १९ तथा आशुतोष घिरैयाले १० रन बनाए । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । कप्तान पृथु बास्कोटा ९ रनमा आउट भए ।
आर्मीका लागि बलिङमा साहब अलामले उत्कृष्ट प्रदर्शन गरे । उनले ८ ओभरमा एक मेडनसहित ३३ रन खर्चेर चार विकेट लिए । यस्तै, आकाश चन्दले तीन विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रनको योगफल तयार पारेको थियो ।
आर्मीका लागि सन्तोष कार्कीले अर्धशतकीय पारी खेले । उनले ९८ बलको सामना गर्दै १० चौका र एक छक्का हान्दै ७६ रन बनाए । यस्तै, विनोद भण्डारीले ५० बल खेल्ने क्रममा पाँच चौका प्रहार गरी अविजित ४७ रन बनाए । तृतराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्लले २६ रन बनाए ।
बलिङतर्फ बागमतीका लागि प्रतिश जिसी, राजन ढकाल र ईशान पाण्डेले समान दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।
जितसँगै आर्मीले २ अंक जोडेको छ । बागमती हिजो भएको पहिलो खेलमा एपिएफसँग १ सय रनले पराजित भएको थियो ।
