लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै छन् ।
आज एपीएफ र मधेश प्रदेशबीच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
जारी प्रतियोगितामा एपीएफ र मधेश प्रदेश दुवै टोलीले आफ्नो पहिलो खेल जितेर विजयी सुरुआत गरेका छन्।
त्यस्तै, आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच हुँदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मीले खेलेका दुवै खेलमा जित हासिल गर्दै उत्कृष्ट सुरुआत गरेको छ भने कर्णालीले खेलेका दुई खेलमध्ये एक जित र एक हार बेहोरेको छ ।
यस्तै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच पनि आज प्रतिस्पर्धा हुँदै छ । सिद्धार्थ रंगशालामा बिहान ९ बजे सुरु हुने खेलमा गण्डकी र लुम्बिनीले अहिलेसम्म खेलेका दुई खेलमध्ये एक जित र एक हार बेहोरेका छन् ।
अंकतालिकामा आर्मी र पुलिस समान ४ अंकसहित शीर्ष २ मा छन् भने एपीएफ र मधेश समान २ अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।
२ अंक नै भएका कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी क्रमश: पाँचौं, छैंटौं, सातौं र आठौंमा छ्न् । अंकविहीन बागमती र कोशी नवौं र दशौं स्थानमा छन् ।
