नेपालले पायो ७६ रनको लक्ष्य

२०८१, २५ फाल्गुन आईतवार १४:२७

युगाण्डामा जारी चार देशीय महिला टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली युगाण्डासँग खेलिरहेको छ ।

जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले नेपालसामू ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । युगाण्डाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको हो ।

नेपालका लागि पुजा महतोले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा ८ रन दिएर २ विकेट लिइन् ।

नेपाल र युगाण्डाबीच यसअघि ५ खेल भएको छ । त्यसमा नेपालले २ र युगाण्डाले ३ खेल जितेको छ । नेपाल र युगाण्डाबीच सन् २०२२ मा ५ खेलको सिरिजमा युगाण्डा ३-२ ले विजयी भएको थियो ।

पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगाण्डाले भने हङकङलाई पराजित गरेको थियो ।

जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *