युगाण्डामा जारि चार देशीय महिला टी-२० सिरिज अन्तर्गत आफ्नो पाँचौं खेलमा नेपालले आज घरेलु टोली युगाण्डाको सामना गर्दैछ ।

नेपाल र युगाण्डाबीचको खेल नेपाली समय अनुसार अपरान्ह ४:४५ देखि सुरु हुनेछ ।

हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब रहनेछ । शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपाललाई जितको विकल्प हुने छैन ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा नामिबिया र चौथो खेलमा हङकङसँग पराजित भएको थियो ।

आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं र युगाण्डा १८औं स्थानमा छन् ।

नेपाली महिला टोलीले पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ । सिरिजमा घरेलु टोली युगाण्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ ।

सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबिच फाइनल हुनेछ । शीर्ष २ मा पर्न नसक्ने टोलीहरू तेस्रो स्थानका लागि खेल्ने छन् ।

नेपालले यस प्रतियोगितालाई सन् २०२६ मा हुने महिला टी–२० विश्वकप क्रिकेट छनोटको तयारीका रूपमा लिएको छ । विश्वकपको एसिया क्षेत्र छनोट आगामी मे मा हुनेछ ।

नेपालको टोली:

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी, ईश्‍वरी विष्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *