च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।

आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ । भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो ।

अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्नो क्षमतालाई पुनः प्रमाणित गर्न चाहन्छ । टोलीका केही प्रमुख खेलाडी अनुपस्थित छन् । अष्ट्रेलियाको ३ मध्ये २ च्याम्पियन्स ट्रफी खेल वर्षाले प्रभावित भएको थियो । तर अफगानिस्तान विरुद्धको खेलमा उसले सहज जित हात पारे ।

यता भारतले समूह चरणमा अपराजित रहँदै सेमिफाइनल यात्रा तय गर्यो । दुबईको वातावरणमा ३ खेल खेलिसकेकाले टोलीलाई केहि सहज पक्कै हुनेछ । भारतले ४ उत्कृष्ट स्पिनर प्रयोग गर्ने सम्भावना छ । जसले अष्ट्रेलियालाई चुनौती दिन सक्छ ।

भारतको उत्कृष्ट स्पिन बलिङ लाइनअपमा कुलदीप यादव प्रमुख खेलाडी मानिन्छन् । समूह चरणका तीनमध्ये २ खेलमा उनको प्रदर्शन उत्कृष्ट छ ।

यता दुबईको पिचमा अष्ट्रेलियाका स्पिन बलरहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ। अष्ट्रेलियाले ३ जना फास्ट बलरहरू चयन गर्ने कि अतिरिक्त स्पिनर प्रयोग गर्ने भन्ने चासोको विषय हुनेछ । जुनसुकै अवस्थामा पनि अष्ट्रेलियाले जाम्पाको १० ओभरको पूर्ण उपयोग गर्न सक्छ ।

सन् २०१० यता भारत र अष्ट्रेलियाले एकअर्का विरुद्ध समान २३ जित र २३ हार दर्ज गरेका छन् । भारतले च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियासँग ४ पटक खेलेको छ ।

जहाँ २ जित, १ हार, र १ खेलमा नतिजा आएको थिएन् । भारतले पछिल्ला १३ खेलमा टस लगातार हारेको छ । जसमध्ये १० पटक रोहित शर्मा र ३ पटक केएल राहुल कप्तान थिए ।

म्याक्सवेललाई ओडीआईमा ४ हजार रन पूरा गर्न १७ रन आवश्यक छ । यता राहुललाई ३ हजार रन पूरा गर्न ३३ रन आवश्यक रहेको छ ।

दुई वर्षअघि घरेलु मैदानमा भएको ओडिआई विश्व कपको फाइनलमा भारत अस्ट्रेलियासँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *