किरण ठगुन्नाको शतकमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा सुदूरपश्चिमले कोशीलाई ३१ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको २४३ रनको लक्ष्य पछ्याएको कोशी ४५.१ ओभरमा २११ रनमा अलआउट भयो ।
कोशीका लागि सकिब हकले सर्वाधिक ६२, समीर कार्की र कप्तान अंकित सुवेदीले समान ३८ तथा आशिष भट्टराईले ३६ रन जोडे ।
सुदूरपश्चिमका लागि सूर्य श्रेष्ठले ३, भोजराज भट्टले २ तथा शेर मल्ल, नारायण जोशी र राहुल भण्डारीले समान १ विकेट लिए ।
त्यसअघि देउखुरी अन्तराष्ट्रिय स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४३.४ ओभरमा २४२ रन बनाएर अल आउट भएको थियो ।
सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ९१ बलमा १२ चौका र चार छक्काको मद्दतले सर्वाधिक ११५ रनको शतकीय पारी खेले । प्रतियोगितामा किरणको यो दोस्रो शतक हो । यसअघि उनले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए ।
यसैगरी, टेक रावतले १६, अर्जुन विकले १५ तथा कप्तान नारायण जोशी र शेर मल्लले समान १४ रन बनाए ।
कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले चार, फिरदोस अन्सारी र अंकित सुवेदीले समान दुई तथा दीपेश कँडेल र प्रकाश कार्कीले समान एक विकेट लिए ।
जितसँगै एक खेल खेल्न बाँकी रहेको सुदूरपश्चिमले ८ खेलबाट ६ अंक जोडेको छ। पराजित कोशीको समान खेलमा २ अंक रहेको छ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरीसकेका छन् ।
