इन्डियन प्रिमियर लिग (आईपिएल) को १८औं संस्करण आजदेखि सुरु हुँदैछ ।
कोलकाताको ईडेन गार्डेन स्टेडियममा हुने उद्घाटन खेल साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि सुरु हुने छ ।
खेलअघि विशेष उद्घाटन समारोहको आयोजना हुनेछ, जसमा बलिउडका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् । बंगाल क्रिकेट संघ (क्याब) का अध्यक्ष स्नेहाशीष गांगुली का अनुसार, उद्घाटन समारोह ३५ मिनेट सम्म चल्नेछ र टसअघि नै सम्पन्न हुनेछ ।
उद्घाटन खेल र समारोह दुवैमा वर्षाको सम्भावना रहेको छ । यदि वर्षाले प्रभाव पार्यो भने खेल ढिलो हुन सक्ने वा छोटो ओभरमा सिमित हुनसक्ने अनुमान गरिएको छ ।
यस पटक केकेआरको कप्तानी अनुभवी अजिंक्य रहाणे ले गर्नेछन्, भने आरसीबीको कप्तानी रजत पाटीदार को हातमा रहेको छ । गत सिजन केकेआरले सनराइजर्स हैदराबादलाई हराउँदै उपाधि जितेको थियो ।
अर्कोतर्फ, आरसीबीले अहिलेसम्म आईपिएल उपाधि जित्न सकेको छैन । यस पटक पाटीदारको नेतृत्वमा टोलीले पहिलो उपाधि जित्ने लक्ष्य राखेको छ ।
