गण्डकी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार मधेश प्रदेशलाई सुपर ओभरमा पराजित गरेको छ ।
निर्धारित ५० ओभरको खेलमा दुवै टाेलीले २४६ रन बनाएपछि खेलको सुपर ओभरमा गएको थियो । प्रतियोगिताको यो पहिलो सुपर ओभर हो ।
सुपर ओभरमा गण्डकीले दिएको २३ रनको लक्ष्य पछ्याएको मधेशले ९ रन मात्र बनाउन सक्यो । मधेशका लागि रुपेशसिंहले ६ र पवन सराफले ३ रन बनाए ।
त्यसअघि गण्डकीले सुपर ओभरमा २२ रन बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङले १३ र सुदीप अर्यालले ६ रन बनाए । मधेशका लागि रुपेशसिंहले दुई विकेट लिए ।
खेलमा मधेशले दिएको २४७ रनको लक्ष्य पछ्याएको गण्डकीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४६ रननै बनाएको थियो ।
गण्डकीका लागि अर्जुन कुमालले शतक प्रहार गरे । उनले १४० बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक १०६ रन बनाए । यसैगरी बूढामगरले ३४ र कप्तान विपिन खत्रीले २६ र सुदीप अर्यालले अविजित ३४ रन जोडे ।
मधेशका विशाल पटेलले सार्वधिक ४ विकेट लिँदा रुपेश सिंह, रन्जित कुमार, प्रदिप पासवान र पवन सर्राफले समान १ विकेट लिए ।
त्यसअघि भैरहवाको सिद्घार्थ क्रिकेट रंंगाशालामा टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४६ रनको योगफल तयार पारेको थियो ।
मधेशका लागि रोहन विकले सर्वाधिक ६४, हरिशंकर शाहले ५१ र पवन सराफले ३३ र रुपेश सिंहले अविजित ५१ रन जोडेका थिए ।
गण्डकीका लागि विपिन खत्री र कमल परियारले समान २, अमृत गुरुङ र सन्दीप पराजुलीले समान १ विकेट लिए ।
जितसँगै ९ खेलबाट ४ अंक जोडेको गण्डकीले प्रतियोगिता सकाएको छ । दुई खेल खेल्न बाँकी रहेको मधेशको पनि ७ खेलमा ४ अंक छ । दुवै टोली प्रतियोगिताबाट बाहिरीसकेका छन् ।
