काठमाडौं । नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरले आज सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘१७ औं धर्मश्री’, प्रथम पीएल सिंह मन्स स्पोर्ट्स फिजिक्स १७० सेमी ओभर अण्डर, प्रथम वमेन्स बडी बिल्डिङ ओपन र ५० वर्ष माथिका मास्टर खुला राष्टव्यापी शारीरिक सुगठन प्रतियोगिता-२०८१ को सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ ।

नेपालको शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवनको आहुती दिने अमर शहिद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ सालदेखि आयोजना हुदै आएको ‘धर्मश्री’ प्रतियोगितालाई निरन्तरता दिने क्रममा यही चैत्र ७, ८ र ९ गते प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए ।

चैत्र ७ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त प्रतियोगितालाई विभिन्न ६ तौल समुहमा विभाजन गरिएको छ । प्रतियोगितामा ६०, ६५, ७०, ७५, ८० र ८० प्लस किलो ग्राममा ६०० खेलाडीहरुको सहभागिता रहने छ । प्रत्येक तौल समुहबाट ६ जना खेलाडी छनौट हुनेछन् ।

१७ औं ‘धर्मश्री’ राष्ट्रव्यापी खुल्ला शारीरिक सुठगन प्रतियोगिताको उपाधि विजेता खेलाडीले ११ किलोको ट्रफीसहित नगद १२ लाख पाउने छ । त्यस्तै दोश्रो हुनेले ६ लाख, तेश्रो हुनेले ३ लाख, चौथो हुनेले २ लाख, पाँचौं हुनेले १ लाख ८० हजार र छैठौं हुनेले १ लाख ५० पाउने छ ।

यसैगरि तौल समुहमा दोश्रो, तेस्रो, चौथो, पाँचौ र छैठौं हुने क्रमसः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार प्राप्त गर्ने अध्यक्ष प्रधानले बताए ।

त्यस्तै मेन्स एथलेटिक फिजिक्स ओभर र मेन्स एथलेटिक फिजिक अण्डर र वमेन्स बडी बिल्डिङ ओपनतर्फ विजेता टोलीले समान नगद पुरस्कार पाउने छन् । यी तीनवटै समुहमा विजेता खेलाडीले २ लाख, दोश्रो हुनले १ लाख, तेस्रो हुनेले ७० हजार, चौथो हुनेले ५० हजार, पाँचौं हुनेले ४० हजार र छैठौं हुने ३० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै ५० वर्षभन्दा माथिका खुल्ला मास्टर्सको विजेता खेलाडीले १ लाख, दोश्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार र छैठौं हुनेले १० नगद पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताको कुल नगद पुरस्कार राशी ५२ लाख रहेको आयोजकले जनाएको छ ।

त्यस्तै १७ औं ‘धर्मश्री’ प्रतियोगिता आयोजनाको लागि अनुमानित १ करोड खर्च हुने आयोजनकले जानकारी गराएको छ । काठमाडौं महानगरपालिका मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको आयोजनाले नेपालको शारीरिक सुगठन खेलको विकास तथा विस्तारमा कोशेढुङ्गा सावित हुने अध्यक्ष प्रधानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *