जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जिडब्युएससी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले मंगलबार अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न फाइनलमा महिलातर्फ जावलाखेल र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको हो । उपाधिसँगै दुवै टोलीले समान ५० हजार रुपैयाँ हात पारे ।

महिलातर्फ जावलाखेलले ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) लाई २४-२३ को स्कोरले पराजित गरेको हो। जावलाखेललाई च्याम्पियन बनाउन रजनी राईले सर्वाधिक १४ अंक जोडिन् । उनी नै सर्वाधिक स्कोरकर्ता घोषित भइन् र तीन हजार रुपैयाँ हात पारिन् ।

जावलाखेलले सेमिफाइनलमा इस्पाइनल कट इन्जरी नेटुर्क नेपाल (एससिआइएनएन) लाई १७-६ को स्कोरमा हराउँदै फाइनल यात्रा तय गरेको थियो । यता, डब्ल्युएसएले राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) लाई १२-२ को स्कोरमा पराजित गरेको थियो । यस्तै, महिलातर्फ निडवानलाई हराउँदै एससिआइएनएन तेस्रो भयो ।

पुरुषतर्फ विभागीय ‘डर्बी’ मा एपिएफलाई आर्मीले ४३-४१ को स्कोरमा हराउँदै च्याम्पियन बन्यो । निकै रोमाञ्चक बनेको फाइनलमा निर्धारित खेल ३९-३९ को बराबरी सकिएको थियो। त्यसपछि विजेताको छिनोफानो गर्न अतिरिक्त तीन मिनेटको समय थप गरिएको हो । तर, अतिरिक्त समयमा आर्मीले चार र एपिएफले दुई स्कोर जोड्यो । योसहित आर्मी समग्रमा ४३ अंकसहित विजयी भयो । उपाधि दिलाउन रमेश खत्रीले सर्वाधिक १९ स्कोर जोडे । उनले तीन हजार रुपैयाँ प्राप्त गरे ।

आर्मीले सेमिफाइनलमा बिआइएलाई ४०-१३ र एपिएफले आयोजक टोली एनएससिआइएसएलाई ४०-१० को फराकिलो स्कोरमा हराउँदै फाइनल प्रवेश गरेको थियो ।

यस्तै, आयोजक टोलीलाई १०-६ को स्कोरले हराउँदै बिआइए तेस्रो भयो । उपविजेता दुवै टोलीले ४० र तेस्रो हुने दुवै टोलीले ३० हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ जावलाखेलको तुलशा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ भने कप्तान राम तामाङ सर्वोत्कृष्ट भए । दुवै खेलाडीले समान तीन हजार रुपैयाँ प्राप्त गरे ।

विजेता टोलीलाई राखेपका उपाध्यक्ष धुर्व आचार्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, एनएससिआइएसएका अध्यक्ष देवी आचार्यलगायत विशेष अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए ।

दुई दिन चलेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ सातसहित कुल १३ टोलीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *