लायन्स कप भलिबल प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीले सहभागिता जनाउने भएका छन् ।
पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा प्रतियोगिता १८ देखि वैशाख २२ गतेसम्म हुने तय छ ।
आयोजक लायन्स इन्टरनेसनल नेपालका अनुसार प्रतियोगितामा नेपालका पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने छन् । यस्तै, पाकिस्तान भलिबल क्लब, इस्लामवादले पनि सहभागिता जनाउने पक्का भइसकेको छ ।
‘भारत र इरानको टिमसँग सरसल्लाह भइरहेको छ । सम्झौता गर्न बाँकी छ,’ डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले भने ।
उनका अनुसार प्रतियोगिताको विजेताले चार लाख ४४ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेता टोलीले दुई लाख ४४ हजार ४४४ र तेस्रो हुने टोलीले एक लाख ४४ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ र विधागतमा आठ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन् ।
