विराटनगर । मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा आजदेखि विराटनगरमा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
विराटनगर – १९ वैजनाथपुर क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा उदयपुर जिल्लाले इलाम जिल्लालाई २९ रनले पराजित गरेको छ । जितसँगै उदयपुरले दुई अंक जोडेको छ ।
उदयपुरले दिएको ८६ रनको लक्ष्य पछ्याएको इलामले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो । इलामका श्याम यादवले २४ बलमा १४ रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन ।
उदयपुरका लागि तेज आचार्यले र सुशान्त तिम्सिनाले समान ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच उदयपुर तेज आचार्य घोषित भए । उनले नगद २ हजार पाँच सय पाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको उदयपुर १९ ओभरमा ८५ रनमा अलआउट भएको थियो । उदयपुरका आगि प्रभात किरण राईले सर्वाधित २२ रन बनाए । १९ बल खेलेका उनले तीन चौका प्रहार गरे ।
यसैगरी निर्देश बस्नेतले १५ र रिन्जन तिवशीले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । इलामका लागि लभ कामतले सर्वाधिक ४ तथा प्रजवल खत्रीले ३ विकेट लिए ।
प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछ । पहिलो खेल मोरङ र उदयपुर जिल्ला हुनेछ । सोही दिन हुने दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी र सुनसरीबीच हुने क्लबकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।
कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले गरे ।
चैत १६ गतेसम्म हुने प्रतियोगिताको विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । म्यान अफ द सिरिज हुने खेलाडीले १५ हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
