काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डविरुद्ध जितका लागि १०७ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको हो ।

थाइल्याण्डकी चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाइन् । यस्तै, थिपात्चा पुत्थावाङले २५ र नानपाट कोन्चिारोइन्काइले १९ रन बनाए । ओपनरद्वय अफिसारा सुवान्चोन्राथीले १७ र नाताया बुचाथामले १० रन थपे ।

थाइल्याण्डलाई सस्तैमा समेट्न मनिषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले एक मेडनसहित १८ रन खर्चिइन् । यस्तै, पूजा महतो र यसै खेलबाट डेब्यु गरेकी रचनाकुमारी चौधरीले समान १ विकेट लिए ।

नेपाली टोली पहिलो जितको खोजीमा छ । नेपालले पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो । थाइल्याण्ड भने प्रतियोगितामा अपराजित छ ।

सिरिजमा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् । तीन देश सहभागी सिरिजको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *