ग्लेन फिलिप्सको शतकको सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ ।
शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो ।
३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो ।
पाकिस्तानका लागि ओपनर फखर जमानले सर्वाधिक ८४ रन बनाए । उनले ६९ बलमा ७ चौका र ४ छक्का हिर्काए । सलमान आघाले ५१ बलमा ४० रन जोडे । उनले २ चौका र १ छक्का हिर्काए । तयब ताहिरले ३० रन तथा अबरार अहदमले २३ रनको योगदान दिए ।
न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले १० ओभर बलिङ गर्दै ४१ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै, म्याट हेनरीले पनि ९.५ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए । माइकल ब्रेसवेलले २ तथा ग्लेन फिलिप्सले १ विकेट हात पारे ।
त्यसअघि पाकिस्तानको लाहोरमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले फिलिप्सको शतक सहयोगमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३० रनको योगफल तयार गरेको थियो ।
फिलिप्सले मात्र ७४ बलमा १०६ रन जोडे । उनले यसक्रममा ६ चौका र ७ छक्का हिर्काए । उनलाई डेरल मिचेलले ८१ रन बनाउँदै राम्रो साथ दिए । मिचेलले ८४ बलको सामना गर्दै २ चौका र ४ छक्का हिर्काए ।
केन विलियमसनले ८९ बलमा ५८ रनको योगदान दिए । ब्रेसवेलले २३ बलमा ३१ रन बनाए भने रचिन रवीन्द्रले २५ रन जोडे । रचिन फिल्डिङका क्रममा घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले १० ओभर बलिङ गर्दै ८८ रन खर्चेर ३ विकेट लिए । अबरार अहमदले २ विकेट तथा ह्यारिस राउफले १ विकेट हात पारे ।
जितसँगै न्युजिल्याण्ड सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । सिरिजमा सहभागी तीनै टोली एक आपसमा खेले पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । अब अर्को खेल सोमबार न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबिच हुनेछ ।
