क्रिकेटको सहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीको पाटन खोड्पेका हरिस भाटले नगद ५० हजार पुरस्कार जितेका छन् ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा छक्का प्रहार भएको बललाई समातेका हरिसले ब्रेड बक्सको तर्फबाट नगद ५० हजार प्राप्त गरेका हुन् । ब्रेड बक्सले सेमिफाइनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद ५० हजार पुरस्कार घोषणा गरेको थियो ।

पहिलो सेमिफाइनलमा कुनै क्याच भएको थिएन भने दोस्रो सेमिफाइनल खेलमा हरिसले पहिलो क्याच गरेका हुन् । प्रतियोगिताभरमा उनले पहिलो मैदान बाहिर गएको बल क्याच गरेका हुन् ।

उनी धनगढीमा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट प्रतियोगिता खेल्न हिजो मात्रै धनगढी आएका हुन् ।

एथलेटिक्स खेलाडी रहेका उनी जिल्ला छनोट प्रतियोगितामा भएर प्रदेश छनोट खेल्न आएका हुन् । ज्याभलिङ थ्रो का खेलाडी हरिस साथीहरूले क्रिकेट हेर्न जाऊ भनेपछि फाप्लामा आएको बताए ।

उडेर आएको बललाई पछाडि सरेर क्याच गर्न सफल भएको उनले बताए । नगद ५० हजार प्राप्त गरेका उनले त्यो रकमलाई आफ्नो खेलमा नै लगानी गर्ने बताए । उनले नगद ५० हजार सहित खल्तीको तर्फबाट एयर बड समेत पाएका छन् ।

प्रतियोगिताको फाइनल खेलमा दर्शकले क्याच गरेमा ब्रेड बक्सले नगद एक लाख प्राप्त गर्ने भएका छन् । त्यसका लागि दर्शकले टिकट काटेको हुनुपर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *