दक्षिण अफ्रिकाका ओपनिङ ब्याटर म्याथ्यु ब्रिजके एकदिवसीय क्रिकेटको डेब्यु खेलमै १५० रन प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

सोमबार भइरहेको न्युजिल्याण्डसँगको खेलमा डेब्यू गरेका उनले १५० रन बनाएर यो कीर्तिमान बनाएका हुन् ।

२६ वर्षीय ब्रिजकेले १४८ बलको सामना गर्दा ११ चौका र ५ छक्का प्रहार गरेका थिए । उनी १५० रनमा खेलिरहँदा म्याट हेनरीको बलमा स्ल्याप शट खेल्ने क्रममा माइकल ब्रेसवेलको हातबाट समातिएका थिए ।

उनको डेब्यूमै खेलेको उत्कृष्ट पारीको विपक्षी टिम न्युजिल्याण्डका खेलाडीहरूले पनि प्रशंसा गरेका थिए । टी-२० आईमा १० खेल खेलिसकेका उनले एकदिवसीयमा पहिलो खेल खेलेका हुन् ।

एकदिवसीय क्रिकेट डेब्यूमा सर्वाधिक स्कोर वेस्ट इन्डिजका डेसमोन्ड हेनसको नाममा थियो । उनले सन् १९७८ मा अस्ट्रेलियाविरूद्ध डेब्यूमा १४८ रन बनाएका थिए । ४७ वर्षपछि उनको कीर्तिमान तोडिएको हो ।

पाकिस्तानमा अहिले दक्षिण अफ्रिका, न्युजिल्याण्ड र पाकिस्तान सम्मिलित त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखला भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *