कैलालीको धनगढीमा सम्पन्न अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललित ऐरले नगद एक लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
सोमबार भएको फाइनल खेलमा छक्का प्रहार भएको बललाई समातेका ललितले ब्रेड बक्सको तर्फबाट नगद एक लाख रुपैयाँ प्राप्त गरेका हुन् । ब्रेड बक्सले फाइनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद एक लाख पुरस्कार दिने घोषणा गरेको थियो ।
यस्तै, अन्य छक्का प्रहार भएको बलमा पनि क्याच गरेमा प्रतिक्याच १० हजार घोषणा गरिएको थियो । यसअघि आइतबार भएको सेमिफाइनलमा पहिलो क्याच गर्दै बैतडीका हरिश भाटले ५० हजार रुपैयाँ पुरस्कार पाएका थिए ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ का ललित आज फाइनल खेल हेर्न चार जना काकाहरूसँगै फाप्ला पुगेका थिए । चन्द सूर्य सेकेन्डरी स्कुलमा कक्षा १२ मा पढिरहेका उनले पाएको एक लाख रुपैयाँ अध्ययनमा लगानी गर्ने बताएका छन् ।
