धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ ।

मंगलवार भएको दिनको पहिलो खेलमा बुटवलले दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

बुटवलले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बैतडी १४.५ ओभरमा १ सय ६ रनमा समेटियो ।

बैतडीका लागि बसन्त खत्रीले सर्वाधिक २० रन जोडे । हिमाल दुलियाले १९, सुमित बुडालले १४ र दिवान पुनले १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउँन सकेनन् ।

बलिङतर्फ बुटवलका लागि तुलबहादुर थापाले ३, विपर्सन केसी र वीर मगरले समान २ तथा महेश भार, सिद्धान्त शाही र निर्मल गुरुङ समान १ विकेट लिए ।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गरेको थियो ।

बुटवलका लागि दिपक डुम्रेले सर्वाधिक ४५ रन जोडे । आरिफ खानले ४१,कप्तान दिलिप नाथ र प्रतिक श्रेष्ठले समान २० रन जोडे ।

बलिङतर्फ बैतडीका लागि कप्तान भुवन कार्कीले २ तथा खडक बोहोरा, सलाउदिन खान र रुपेश सिंहले समान १ विकेट लिइन् । 

खेलको प्लेयर अफ दि म्याच बुटवलका तुलबहादुर थापा चुनिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

आजै हुने दोस्रो खेलमा बोस्टन एकेडेमी झापा र धनगढी क्रिकेट एकेडेमी(डिसीए) बीच खेल हुदैछ । गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *