कोशी प्रदेशको सलेश युथ क्लबले बुधबार बागमती यु-२० गर्ल्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ ।
मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०-० स्कोरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै सलेशले ५० हजार रुपैयाँ प्राप्त गर्यो । कर्णालीले भने ३० हजार रुपैयाँमा चित्त बुझायो ।
खेलको पहिलो हाफमै सलेशले एक ट्राईमार्फत ५-० को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि सलेशले समान स्कोर गर्दै एकपक्षीय जित निकाल्न सफल रह्यो । सलेशलाई च्याम्पियन बनाउन आरुषी भट्टराईले दुवैपल्ट ट्राई गर्दै १० अंक जोडेकी हुन् ।
एक ट्राई बराबर पाँच अंक र एक कन्भर्जनमा दुई अंक प्राप्त हुन्छ । ट्राई गरेपछि नै कन्भर्जन किक प्रहार गर्न पाइन्छ । तर, सलेशले दुवैपल्ट कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन ।
कर्णालीले पहिलो सेमिफाइनलमा नेपाल महिला रग्बी संघलाई कन्भर्जन किकमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । निर्धारित समय र थप गरिएको समयमा पनि कुनै टोलीले अंक ल्याउन सकेनन् । त्यसैले विजेताको टुंगो कन्भर्जन किकबाट गरिएको हो । कन्भर्जन किकमा कर्णालीले सफल रह्यो। उसले दुई किकलाई कन्भर्ट गर्न सक्यो । नेपाल महिला रग्बी संघले भने कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन ।
अर्को सेमिफाइनलमा भने सलेशले बागमतीलाई १०-५ ले पराजित गर्यो । पहिलो हाफमा दुवै टोलीले एक/एक ट्राई गरेका थिए। दोस्रो हाफमा भने सलेशले एक ट्राई गयो । तर, प्राप्त कन्भर्जन किकलाई भने दुवै टोलीले कन्भर्ट गर्न सकेनन् ।
नेपाल महिला रग्बी क्लब र प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा कोशीको सलेशसहित सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश र बागमती प्रदेशसहित नेपाल महिला रग्बी संघ र हिमालयन टाइगर रग्बी क्लब गरी आठ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सलेशका आरुषी भट्टराई घोषित भइन् । उत्कृष्ट प्रशिक्षक सलेशकै नवीन दर्लामी रहे ।
प्रतियोगताका विजेता टोलीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव दीपक लामा र उपविजेतालाई नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले पुरस्कृत गरे ।
