गोर्खाली रग्बी क्लबको आयोजनामा आजदेखि शुरु भएको प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगितामा गोर्खा रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भरतपुरको कृष्णपुर खेल मैदानमा शुक्रवार भएको लिग चरणको खेलपछि लुम्बिनी प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेश लिग चरणबाटै बाहिरिए ।

क्लबले आयोजना गरेको यो पहिलो रग्बी सेभेन्स प्रतियोगिता हो । विदेशी खेलाडीहरूको उपस्थितिले प्रतियोगिताको रौनक निकै बढेको देखिएको छ ।

कुल ७ टोली बिच दुई समूहमा विभाजन गरी खेलाइएको प्रतियोगितामा समूह ए मा आयोजक गोर्खाली र कर्णाली प्रदेश सेमिफाइनलमा प्रवेश गर्यो ।

गोर्खा रग्बीले लिगको दुवै खेल जितेर र समूह विजेता बनेको थियो ।

गोर्खालीले गण्डकी प्रदेशलाई २२-० ले तथा कर्णाली प्रदेशलाई २२-७ स्कोरले पराजित गरेको थियो । कर्णालीले भने गण्डकी प्रदेशलाई २६-५ स्कोरले पराजित गरी समूह उपविजेता बनेको थियो ।

यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लबले लिगको तीन वटै खेल जित्दै समूह विजेता बन्न सफल भयो।

टोलीले एपीएफलाई ३४- ५ स्कोरले, लुम्बिनी प्रदेशलाई एकोहोरो खेलमा ४३-० ले तथा मधेस प्रदेशलाई पनि ४३-० स्कोरले पराजित गरेको थियो ।

समूह उपविजेता बनेको एपीएफले भने मधेस प्रदेशलाई २४-५ ले तथा लुम्बिनी प्रदेशलाई ४५-० ले पराजित गरेर उपविजेता बन्यो ।

मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई २४-७ ले पराजित गर्दा लुम्बिनीले भने लिगको तीन वटै खेल गुमाएको थियो।

अब शनिवार हुने सेमिफाइनलमा गोर्खाली रग्बीले एपीएफसँग र त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ । शनिवार नै उपाधि भिडन्त हुनेछ ।

यसअघि प्रतियोगिताको बाग्मती प्रदेशका सांसद ईश्वर सापकोटा ‘सुमन’ ले ट्रफी अनावरण गर्दै उद्घाटन गरेका थिए । उनले नेपालमा रग्बी खेल तीव्र रूपमा अगाडि बढिरहेको बताउँदै स्थानीय तहमा यसको प्रभाव राम्रो पर्न थालेको बताए ।

कार्यक्रमका सभापति गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्कीले आगामी वर्ष प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप दिने बताए ।

कार्यक्रममा नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले रग्बीको स्तर निकै वृद्धि भएको बताउँदै अर्को वर्ष आयोजना हुने १४औं दक्षिण एसियाली खेलकुदमा पदक जित्ने विश्वास व्यक्त गरे ।

पाकिस्तानमा हुने १४ औं सागमा रग्बी खेल पहिलो पटक समावेश गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख तथा दोस्रो स्थान प्राप्त गर्ने टोलीले रु १ लाख पुरस्कार प्राप्त गर्नेछ । नेपाली रग्बी प्रतियोगितामा राखिएको यो अहिले सम्मकै सर्वाधिक पुरस्कार राशि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *