राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले खेलाडी र खेलकर्मीको नाममा गुन्डागर्दी गर्ने कसैको पनि संरक्षण गर्न नहुने बिहीबार बताएकी छन् ।

गत माघ २५ गते केही समूहले ज्ञापन पत्र बुझाउने क्रममा त्रिपुरेश्वरस्थित राखेपका सदस्य-सचिव टंकलाल घिसिङको कार्यकक्षमा भएको तोडफोड र सदस्य-सचिव घिसिङलाई गरिएको दुव्यवहारको विरोध गर्न त्रिपुरेश्वरस्थित राखेप हातामा आयोजित कार्यक्रममा कर्मचारी संघले आयोजना गरेको विरोध कार्यक्रममा अध्यक्ष भण्डारीले सो कुरा बताएकी हुन् ।

‘खेलाडी र खेलकर्मीको नाममा गुन्डागर्दी गर्ने कसैलाई पनि संरक्षण गर्नु हुँदैन । घटना घटेको आज २ साता भइसक्यो । कोही पक्राउ परेका छैनन् । यस्ता अपराधिक घटनामा संलग्नको यथाशीघ्र खोजी गरी कानूनी दायरामा ल्याएर कार्वाही गर्न सम्बन्धित निकायसंग कर्मचारी संघ जोडदार माग गर्दछ ।’

अध्यक्ष भण्डारीले भनिन्– ‘यो प्रहार भनेको सदस्य-सचिव माथि गरिएको मात्र नभइ सिंगो खेल क्षेत्र र तमाम खेलकर्मी माथिको प्रहार हो । यो कार्यक्रम विरोधसंगै दोषीलाई कानूनी दायरामा ल्याउन दबाब पनि हो ।’

सो अवसरमा राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, अञ्जन धमला, विदुर ढुंगाना, नन्दा बस्याल, रामचन्द्र श्रेष्ठ, अन्जना श्रेष्ठ, मधुसुदन सुवेदी र हिमालकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायत पदाधिकारी, कर्मचारी, प्रशिक्षक, राष्ट्रिय खेल संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अधिकांश वक्ताले अनुशासनहीन कार्यको घोर भत्सर्ना गर्दै दोषीलाई चाँडो भन्दा चाँडो खोजी गरी कानूनी कार्वाही गर्नुपर्नेमा जोड दिए ।

यसअघि उक्त घटनाको विरोधमा नेपाल ओलम्पियन संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र कर्मचारी संघले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी विरोध गरेका थिए भने विभिन्न ३४ राष्ट्रिय खेल संघले पनि सामूहिक विज्ञप्ति निकाल्दै विरोध जनाएका थिए । घटनाको विभिन्न खेल संस्थाबाट पनि चौतर्फी विरोध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *