तोरणको अग्रता कायमै

२०८१, १४ फाल्गुन बुधबार १९:५६

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ४-अन्डर ६८ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन् ।

समग्रमा ११-अन्डर १३३ सहित उनले नीरज तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन् ।

धरानका प्रो नीरजले आज दिनकै उत्कृष्ट स्कोर कार्ड निकाले। ५-अन्डर ६७ सहित समग्रमा ८-अन्डर १३६ को स्कोरमा दोस्रो स्थानमा रहे । समग्रमा २-अन्डर १४२ को स्कोर बनाएका टङ्क बहादुर कार्की र दिनेश प्रजापति तेस्रो स्थानमा उक्लिए । दुवैले समान ई भन-पार ७२ मा दोस्रो दिनको खेल सकाए ।

नेपाल नम्बर एक भुवन नगरकोटी, रमेश अधिकारी र जय राम श्रेष्ठ समग्रमा १-अन्डर १४३ सहित संयुक्तरुपमा पाँचौँ स्थानमा रहे । भुवनले २-अन्डर ७०, रमेशले १-अन्डर ७१ र जयरामले १-ओभर ७३ को स्कोर दर्ज गरे ।

पहिलो दिनका लिडर तोरणले फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गरे । उनले ३-अन्डर ३३ मा फ्रन्ट नाइनको खेल सकाए । पहिलो होलमा बोगी प्रहार गरे पनि दोस्रो, तेस्रो,सातौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गरे । ब्याक नाइनमा १-अन्डर ३५ को स्कोर निकाले । १०औँ र १२ औँ होलमा बोगी खेपे पनि तोरणले कम ब्याक गर्दै १३औँ, १७औँ र १८औँ होलमा एक-एक सट बचाए ।

दिनकै उत्कृष्ट स्कोर निकालेका नीरजले बोगी रहित खेले । फ्रन्ट नाइनमा ४-अन्डर ३२ को लोभलाग्दो प्रदर्शन गर्दा ब्याक नाइन १-अन्डर ३५ मा सकाए । यो क्रममा उनले ५ होलमा बर्डी प्रहार गरे। तेस्रो होलमा एक सट बचाएका उनले यसपछि पाँचौँ देखि सातौँ होलमा लगातार तीन बर्डी प्रहार गरे । यसपछि १२औँ होलको बर्डीले ५-अन्डरको स्कोर तयार पार्दै लिडर तोरणलाई दबाब दिएका छन् ।

एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्मा र डिफेन्डिङ च्याम्पियन सद्भाव आचार्य ई भन-पार १४४ सहित संयुक्त रूपमा शीर्षस्थानमा छन् । आज राहुलले ३-अन्डर ६९ को स्कोर निकाले । दोस्रो, तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरेका उनले आठौँ होलमा बोगी खेपे । फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए । यसपछि ११औँ र १२औँ होलमा एक-एक सट बचाए । ४-पारको १४औँ होलमा इगलको सफलता प्राप्त गरे । तर १३औँ,१६औँ र १७औँ होलको बोगीले ब्याक नाइन १-अन्डर २५ मा पुरा गरे। सद्भावले भने ई भन-पार ७२ को स्कोर गरे ।

३६ होलको समाप्तिमा १३-ओभर १५७ स्कोर गरेका २२ प्रोफेसनल र ४ एमेच्योर गरी कुल २६ गल्फरले कट बनाएका छन् । प्रो तर्फ भुवन कुमार रोक्का, प्रदीप कुमार लामा, सुनिल केसी,  दीपक मगर, भूबहादुर गुरुङ,  बलभद्र राई, धन बहादुर थापा, रवि खड्का, सुरेश तामाङ, शिव राम पौडेल, भीमसेन चौलागाई र राजेन्द्र श्रेष्ठ प्रधानले कट बनाए । एमेच्योरतर्फ राहुल र सद्भावसँगै बाबु पौडेल र कवि थापाले कट बनाए ।

प्रतियोगिताको कुल नगद पुरस्कार राशि ८ लाख ८२ हजार  रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख  र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन् ।  शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *