हेटौंडा । नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आज (आइतबार) बाट शुरु भएको छ । हेटौंडास्थित होटल सामनामा सञ्चालन भएको चेस च्याम्पियनसिपमा वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीले जित दर्ता गरेका छन् ।

२४ औं राष्ट्रिय बुद्धिचाल विजेता राजनले पहिलो चरणको खेलमा ललितपुरका टाक्टिस मास्टर सरोज महर्जनमाथि टेक्निकल खेल प्रदर्शन गर्दै जित हासिल गरे । महासंघले केही वर्ष देखि राष्ट्रिय च्याम्पियनसिपको फर्म्याटमा नेशनल सिनियर च्याम्पियनका शीर्ष तीन जना खेलाडी र नेशनल बी बाट शीर्ष ९ जना खेलाडी समावेश गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

जस अनुसार दुबै विधाका समान १२ जना खेलाडीबीच एक अर्कासँग ११ चरणको प्रतिस्पर्धा मार्फत राष्ट्रिय विजेता घोषणा हुनेछन् । आज सम्पन्न पहिलो चरणको स्पर्धामा नै नेपाल द्वितीय सिएम शुश्रुत दहाल भने पूर्व नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसँग हार व्यहोर्न पुगेका छन् ।

सिम्पल खेल चलिरहेको थियो । एउटा पाउन डाउन हुदा खेल रुपेशको पक्षमा गएको थियो । यस्तै नेपाल तेश्रो एफएम क्षितिज भण्डारीले आशा गरिएका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई लामो -यालि खेलमा निराश पारेका छन् ।

शुरुमा एउटा पाउन छोडेर खेलेका सिलवालले अन्तिम समयको दबाब झेल्न पुगेका थिए । अर्को खेलमा काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरिका धिरेन राईलाई कठिन खेलमा हराउन सफल भएका छन् । अनुभवी खेलाडी प्रेमकृष्णले धिरेनविरुद्ध सटिक चाल चाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

पूर्व नेपाल च्याम्पियन एवं सिनियर खेलाडी सिएम नवीन तण्डुकारले भक्तपुरका युवा खेलाडी विनय थापालाई सहज रुपमा पराजित गरेका छन् । क्रमशः दोलखाका युवा खेलाडी आशिष् फूँयालले एफएम रिजेन्द्र राजभण्डारी विरुद्ध उत्कृष्ट खेल पस्केर पिस अप हुदै जितको स्वाद चाखेका छन् ।

यसरी पहिलो चरणको खेलबाट राजन सुवेदी, रुपेश जैसवाल, क्षितिज भण्डारी, प्रेमकृष्ण महर्जन, नवीन तण्डुकार र आशिष् फूँयालले समान महत्त्वपूर्ण १ अंक जोड्न सफल भएका छन् ।

यस्तै महिलातर्फको खेलमा उदीयमान खेलाडी ईशा गिरिले पुनम प्रसाईं र एञ्चल महर्जनले शान्ति धिमाललाई पराजित गरेर अप्रत्याशित नतिजा निकाल्न सफल बनेका छन् ।

बाँकेकी ईशा गिरिले झापाका पुनम प्रसाईं विरुद्ध विसप सेन्टरलाइज गर्दै महत्त्वपूर्ण स्क्वायर कभर गरि जित हासिल गर्न सफल बनेकी थिइन् । काठमाडौंका एञ्जेलले भने ओलम्पियाड खेलाडी शान्ति धिमाललाई एक्सिलेण्ट मुभ चालि हराएका छन् ।

त्यसैगरी वर्तमान नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशीले निहाना श्रेष्ठमाथि सहज जित प्राप्त गरेका छन् । झापाका कृतिसारा अधिकारीले पनि नयुमा मगरलाई सहज पराजित गरेकी छिन् ।

ताप्लेजुङकी शुशिला गुरुङले चितवनका लक्ष्मी कँडेललाई र बिनिता कपालीले दानिशा पुरीलाई हारको उपहार दिएका छन् । यससँगै ईशा गरि, एञ्जल महर्जन, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, शुशिला गुरुङ र बिनिता कपालीले एक एक अंक जोडेर प्रतियोगितामा राम्रो शुरुआत गरेका छन् ।

प्रतियोगिताका संयोजक महासंघका महासचिव धरम बहादुर लामाले प्रतियोगिताको दोस्रो दिन थप दुई चरणको खेल हुने जानकारी गराएका छन् ।

धरम लामाका अनुसार प्रतियोगिता सञ्चालन गर्न २५ लाख खर्च हुने र सो खर्च बाग्मती प्रदेश खेलकुद बिकास परिषद, राष्ट्रिय खेलकुद परिषद, हेटौंडा उपनगरपालिका लगायतका स्थानवाट रकम संकलन गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *