आइसिसी महिला यु-१९ विश्वकप अन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग टस हारेर फिल्डिङ गर्ने भएको छ ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।
नेपाली टोलीमा आज एक परिवर्तन गरिएको छ । किरण कुँवरको ठाउँमा तृष्णा बिक टिममा आएकी छन् ।
यसअघिका दुई खेलमा लगातार हार बेहोरेको नेपाल आज अस्ट्रेलियालाई हराउँदै सुपर सिक्समा पुग्ने झिनो सम्भावना जीवितै राख्न चाहन्छ । अस्ट्रेलिया सुरुवाती दुवै खेल जितेर एक खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ ।
पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।
नेपालले महिला क्रिकेटमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो ।
नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलियाले २ खेलबाट ४ अंक जोड्दा बंगलादेश र स्कटल्याण्डको समान २ अंक छ । नेपाल भने अंकविहीन छ ।
नेपालको शुरुवाती ११:
पुजा महतो (कप्तान), सना प्रवीन, साबित्री धामी, ज्योत्सनिका मरासिनी, अलिशा यादव, तृष्णा बिक, अनु कडायत, सिमाना केसी, रिया शर्मा, रचना चौधरी, कृश्मा गुरुङ
