प्रधानमन्त्री कप टी–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिता धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताअन्तर्गत पहिलो दिन दुई खेलहरू हुँदैछन् । उद्घाटन खेल विहान ९ बजे सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशको बीचमा हुनेछ । त्यसैगरी दोस्रो खेल दिउँसो १ बजे कर्णाली प्रदेश र एपीएफको बीचमा हुनेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले सोमबार बैतडीमा आयोजित पत्रकार सम्मेलनमा मैदान सरसफाइसँगै कालोपत्रलगायत तयारी पूरा भएको बताउँदै खेलाडीहरू धनगढी पुग्ने क्रम जारी रहेको जानकारी दिए ।

आगामी माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागी हुने सङ्घका सचिव लक्ष्मण भट्टले बताए । उनका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपिएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बागमती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।

दुवै समूहको शीर्ष दुई टोली सुपर फोर राउण्डमा प्रवेश गर्नेछन् । जहाँ समूह ‘ए’ को शीर्ष दुई टोलीले समूह ‘बी’ का शीर्ष दुई टोलीसँग खेल्नेछन् । सुपर फोरमा एकै समूहको टोलीबीच भने खेल हुने छैन । सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना तथा नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले पाँच लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट सङ्घका महिला विकास समितिका सदस्य तेजप्रकाश भट्टले जानकारी दिए । उनका अनुसार दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार दिइने छ ।

प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारहरूको रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *