कप्तान पूजा महतोको अलराउन्ड प्रर्दशनमा नेपालले आइसिसी महिला यु-१९ टि-२० विश्वकपमा सान्त्वना जित हासिल गरेको छ । शुक्रबार नेपालले प्ले अफ खेलमा घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि पूजा महताले अविजित २३ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । मलेसियाका लागि तीनै विकेट मर्स्याले लिइन् ।
त्यसअघि जोहर क्रिकेट एकेडेमी ओभलमा टस हारेर ब्याटिङको गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन मात्र जोड्न सक्यो ।
मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र ९ रन खर्चिदै सार्वधिक ४ विकेट लिइन् । यससँगै उनी सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन् । जारी विश्वकपमा पूजाको यो नवौं विकेट हो ।
यसैगरी रचना चौधरीले ३ तथा रिया शर्मा र सीमान समान १ विकेट लिए ।
यससँगै नेपालले डेब्यु विश्व कपमा जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ । मलेसिया भने जितविहिन रह्यो । अर्को संस्करणको विश्व कप २०२७ मा नेपालले आयोजना गर्दैछ ।
नेपाल समूह ‘डी’ तथा मलेसिया समूह ‘ए’ को चौथो स्थानमा रहेका थिए । समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो । यता मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो ।
