काठमाडौं । फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौँ माभरिक्स दशरथ रंगशालास्थित कभर्डहलमा भिड्दैछन् ।

जनकपुर पूरा प्रतियोगितामै उत्कृष्ट लयमा रहेको छ । उसले चार जित र एक बराबरीसँगै लिग चरणमा शीर्षस्थान हासिल गरेको थियो । त्यसपछि क्वालिफायर १ मा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको जनकपुर आकर्षक ट्रफी कब्जा गर्दै जनकपुरधाम लग्ने योजनामा छ ।

तर, त्यति सजिलै जनकपुरलाई फाइनल जित्न दिने छैन काठमाडौँले । यो टिम तीन जित, एक बराबरी र एक हारको नतिजासँगै लिगमा तेस्रो भएको थियो । त्यसपछि इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइर २ मा विराटनगरलाई पन्छाउँदै फाइनलमा उभिएको हो । यसवीच काठमान्डुको प्रदर्शन सुधारिँदै गएको छ भने विपक्षी टिम फिक्का भइरहेका छन् ।

भारतको प्रो कबड्डी लिग (पिकेएल) च्याम्पियन कप्तान घनश्याम रोका मगरको उत्कृष्ट प्रदर्शनसँगै भाग्यको साथले फाइनल पुगेको काठमाडौँ आकर्षक ट्रफीलाई राजधानीमै सजाउन चाहन्छ । घनश्यामलाई रोक्न सके जनकपुर च्याम्पियन बन्ने प्रबल सम्भावना छ । अर्कोतिर, थाइल्यान्डका चाहपोन कामुनीलाई आक्रमणलाई निस्तेज पार्नसके काठमाडौँ च्याम्पियन बन्न सक्छ ।

यी दुई टिमबिच लिगमा पनि प्रतिस्पर्धा भएको थियो, जहाँ नतिजाले दुवै टिमलाई जित्न दिएन, हार्यो भन्न पनि मिलेन । मतलब स्कोर ३९-३९ को बराबरीमै खेल सकियो । यो एनकेएलमा जनकपुर जितबाट वञ्चित भएको एक मात्र खेल पनि हो त्यो । त्यसैले काठमाडौँलाई हराउने अभियानलाई फाइनलमा पूर्णता दिएर जनकपुर एनकेएलको उपाधि जित्न आतुर छ ।

जनकपुरको लक्ष्य पनि प्रस्टै छ, जनकपुर बोल्ट्सले गत महिना नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जितेर मनाएको उत्सवलाई कबड्डीमा रूपान्तरण गर्ने ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँका कप्तान घनश्याम रोका मगरले भने, ‘जनकपुर निक्कै राम्रो टिम हो । तर, हामी राम्रो खेल्दै एनकेएल च्याम्पियन बन्न चाहान्छौं ।’ हरियाणा स्टिलर्सबाट पिकेएल च्याम्पियन भएका उनी राष्ट्रिय टिमका समेत कप्तान हुन् । काठमाडौँका प्रशिक्षक सरोजकुमार सिंहले पनि मिहिनेत गर्दै आफ्नो टिम उपाधि जित्न तयार रहेको बताए ।

जनकपुरका प्रशिक्षक पार्वती राईले ‘हाम्रो टिमले अहिलेसम्म राम्रो खेलिरहेका छौं । अब बाँकी एक खेल पनि राम्रो खेल्दै च्याम्पियन ट्रफी उचाल्न चाहन्छौं ।’ उनी एनकेएलका ६ टिमका प्रशिक्षकमध्ये एक्ली महिला हुन् । राष्ट्रिय खेलकुद परिषदअन्तर्गत् कबड्डीका मुख्य प्रशिक्षक रहेकी पार्वती राईकै नेतृत्वमा नेपाली महिला टिमले १९ औं एसियाली खेलकुद २०२२ मा ऐतिहासिक कांस्यपदक जितेको थियो ।

जनकपुरका कप्तान रामु टमटाले पनि आफ्नो टिम राम्रो लयमा भएकोले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने कोसिस गर्ने बताए । फाइनल दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार साँझ ६:३० बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *