हेटौंडा । हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा दोलखाको टाइगर टिम तिखाताल फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दोलखाले सिन्धुलीको ब्लु अल्पाइन क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो ।

खेलको पहिलो हाफको ३१ औं मिनेटमा मिलन श्रेष्ठले गोल गर्दै दोलखालाई अग्रता दिलाए । खेलको ५६ औं मिनेटमा सिन्धुलीका लागि सञ्जीव धामीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ६४ औं मिनेटमा सम्भुजन श्रेष्ठले गोल गर्दै दोलखालाई २-१ को जित दिलाए ।

खेलको म्यान अफ द म्याच दोलखाका उत्तम खत्री चुनिए । उनले ३ हजार रुपैयाँको नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताअन्तर्गत भोलि बिहीबार दोस्रो सेमिफाइनल खेल ललितपुर फुटबल क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लबबिच हुनेछ ।

प्रतियोगितामा ११ जिल्लाको लिग विजेता टिमहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *