पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबले एक अमेरिकनसहित तीन विदेशी खेलाडी भित्र्याएको छ ।

हेल्प नेपालले अमेरिकन प्लेयर जचारी तारो मायर तथा पाकिस्तानी खेलाडी मोहम्मद कसिफ नभिद र आइमल खानलाई अनुबन्ध गरेको क्लबका महासचिब अरुण श्रेष्ठले जानकारी दिए । टाइगर कप खेल्न तीन जनै खेलाडी नेपाल आइसकेको श्रेष्ठले बताए ।

नभिद र खान यसअघि पनि हेल्प नेपालबाट खेलिसकेका छन् भने मायर पहिलोपटक हेल्प नेपालबाट खेल्न नेपाल आएका हुन् । टाइगर कपमा हेल्प नेपालको कप्तानी टोपबहादुर थापाले गर्नेछन् । टोलीको उपकप्तानको जिम्मेवारीमा धिरज बस्नेत रहनेछन् ।

यसबाहेक टोलीमा विष्णु बस्नेत, चिरञ्जीवी खड्का, सुरेन्द्रबहादुर बम, चित्रबहादुर केसी, मनिष मानन्धर, विष्णुबहादुर क्षेत्री र सुवास कुँवर छन् । टोलीको प्रशिक्षकका रूपमा उत्सव खड्का रहनेछन् । हेल्प नेपाल अघिल्लो संस्करणको विजेता टोली हो ।

माघ १२ देखि माघ १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा पुरुष तथा महिलातर्फ दुई विदेशीसहित ६-६ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५५५ रूपैयाँ पाउनेछन् । उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रूपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *