जय ट्रफी पुरुष एलिट कपको उपाधिका लागि मंगलबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्र्धा गर्दैछन् ।
खेल वीरगन्जस्थित नारायणी किक्रेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
लिग चरणबाट पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेर उपाधि नजिक पुगेका थिए । पुलिसले दुई जित र एक बराबरीको नतिजा निकाल्दा आर्मीले दुई बराबरी र एक जित आत्मसात गरेको थियो । लिगचरणबाट बागमती र मधेश प्रदेश बाहिरिएका थिए ।
लिग चरणमा पुलिसले मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेलेको थियो । यस्तै आर्मीले बागमतीसँग पनि बराबरी खेल्दा मधेशलाई हराएको थियो ।
आरिफ शेखको कप्तानीमा रहेको पुलिस ललितनारायण राजवंशी, कुशल भुर्तेल, अर्जुन साउद, गुल्शनकुमार झा, अमीत श्रेष्ठ लगायत खेलाडीको राम्रो साथ पाएको छ ।
त्यस्तै, विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीलाई शाहब आलम, बसिर अहमद, सोमपाल कामी, इम्रान, भीम सार्की जस्ता खेलाडीहरुको साथ रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पुस २१ गतेबाट सुरु भएको प्रतियोगितामा चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेश सहभागी थिए ।
