जय ट्रफी पुरुष एलिट कप २०७१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहिबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

पर्साको विरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न फाइनलको अन्तिम दिन पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा अल आउट भयो ।

आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा विनोद भण्डारी र सोमपाल कार्मीले ११-११ रन जोडे । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसका लागि सागर ढकालले ६ तथा ललितनारायण राजवंशीले ४ विकेट लिए ।

त्यसअघि तेस्रो दिनमा १३२-९ को अवस्थाबाट सुरूवात गरेको पुलिस १३९ रनमा अलआउट हुँदै १०२ रनको अग्रता बनाएको थियो । पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे ।आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिए ।

पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १३३-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन बनाए । अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन बनाएर आउट भए । आर्मीका साहब आलमले ७ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक-एक विकेट लिए ।

त्यसपछि जवाफमा आर्मी १७० रन बनाएर अलआउट भएको थियो ।आर्मीका भीम सार्कीले सर्वाधिक ५८ रन बनाउँदा बसिर अहमदले ४० रन बनाए । सोमपाल कामीले ३२ रन बनाए । विनोद भण्डारीले १४ र इमरान शेखले १० रन बनाए । पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट हात पारे ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सम्पन्न पहिलो संस्करणको यस प्रतियोगितामा ४ टिमले सहभागिता जनाएका थिए । बागमती र मधेस प्रदेश समूह चरणबाटै बाहिरिएका हुन् । तालिकाको शीर्ष २ स्थानमा रहेका टोली पुलिस र आर्मि उपाधि भिडन्तमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *