जय ट्रफी पुरुष एलिट कपअन्तर्गत फाइनलको दोस्रो दिनको खेल सकिँदा त्रिभुवन आर्मी क्लबविरूद्ध नेपाल पुलिस क्लबले ९५ रनको अग्रता लिएको छ ।

वीरगन्जस्थित नारायाण क्रिकेट मैदानमा बुधबार दोस्रो इनिङ सुरु गरेको पुलिसले ४६ ओभर खेल्दै ९ विकेट गुमाएर १३२ रन बनाएको छ । दोस्रो इनिङमा पुलिसका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ रन बनाए । उनले ६७ बलमा ६ चौका प्रहार गरे । यसअघि भुर्तेलले पहिलो इनिङमा अर्धशतक बनाएका थिए ।

यसबाहेक, दीलिप नाथले ६२ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए । राशिद खानले १८ रन थप्दा ओपनर अमित श्रेष्ठले १३ रन जोडे । पुलिसबाट अविजित रहेका सागर ढकाल एक रनमा र ललित नारायण राजवंशी शून्यमा खेलिरहेका छन् । पुलिसका शंकर राना ‘गोल्डेन डक’ र श्रवण यादव डक भए ।

दोस्रो इनिङमा पुलिसविरुद्ध आर्मीका साहब आलमले पाँच विकेट लिएका छन् । २३ ओभर बलिङ गरेका साहबले तीन मेडन फ्याक्दै ७० रन खर्चिएका छन् । बसिर अहमेदले २१ ओभरमा ६ मेडन फ्याक्दै चार विकेट लिएका छन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १३३-९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन बनाए । अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन बनाएर आउट भए । आर्मीका साहब आलमले ७ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक-एक विकेट लिए ।

त्यसपछि पहिलो इनिङमा १७० रन बनाएर अलआउट भएको आर्मीले ३७ रनको सामान्य अग्रता लिएको थियो । आर्मीका भीम सार्कीले सर्वाधिक ५८ रन बनाउँदा बसिर अहमदले ४० रन बनाए । सोमपाल कामीले ३२ रन बनाए । विनोद भण्डारीले १४ र इमरान शेखले १० रन बनाए । पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट हात पारे ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रतियोगितामा ४ टिमले सहभागिता जनाएका थिए । बागमती र मधेस प्रदेश समूह चरणबाटै बाहिरिएका हुन् । तालिकाको शीर्ष २ स्थानमा रहेका टोली पुलिस र आर्मि उपाधि भिडन्तमा उत्रिएका हुन् । बिहिबार विहान साढे ९ बजेदेखि तेस्रो तथा अन्तिम दिनको खेल सुरुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *