नेपाल क्रिकेट संघ (क्यान) ले ‘ब्याटिङ क्लिनिक’ सञ्चालन गर्ने भएको छ ।
क्रिकेट खेलाडीको खेल क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ क्यानले ‘ब्याटिङ क्लिनिक’ सञ्चालन गर्न लागेको क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए । प्रवक्ता लामाका अनुसार ‘ब्याटिङ क्लिनिक’ ४ देखि १२ माघसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
‘ब्याटिङ क्लिनिक’ नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइको प्रत्यक्ष निगरानीमा हुने प्रवक्ता लामाले बताए । ‘ब्याटिङ क्लिनिक’ का लागि क्यानले नेपाल एपीएफ क्लबका लोकेश बमसहित २० खेलाडी छनोट गरेको छ ।
यस्तै, त्रिभुवन आर्मी क्लबका त्रितराज दास, सुदूरपश्चिम प्रदेशका किरन ठगुन्ना, बागमती प्रदेशका रित गौतम, कोशी प्रदेशका सोनु अन्सारी, गण्डकी प्रदेशका सोहेल कुमार, मधेश प्रदेशका अभिषेक तिवारी र कर्णाली प्रदेशका विपिन रावल छानिएका छन् ।
यसैगरी, लुम्बिनी प्रदेशका सन्तोष यादव, सुदूरपश्चिमका नरेन भट्ट, बागमती प्रदेशका उत्तम रंगु थापा मगर, लुम्बिनी प्रदेशका आकाश त्रिपाठी, बागमती प्रदेशका शुभ कंशकार, आर्मीका इमरान शेख र आर्मीकै सन्तोष कार्की पनि ब्याटिङ क्लिनिकका लागि छानिएका छन् ।
यस्तै, गण्डकी प्रदेशका अर्जुन कुमाल, कोशी प्रदेशका अंकित सुवेदी, बागमती प्रदेशका आशुतोष घिरैहिया, कोशी प्रदेशका सुजन थपलिया र कर्णाली प्रदेशका अर्जुन घर्ती मगर पनि छानिएको क्यानका प्रवक्ता लामाले जानकारी दिए ।
प्रवक्ता लामाका अनुसार जय ट्रफी प्रतियोगितामा मधेश प्रदेशबाट उत्कृष्ट ब्याटिङ गरेका नेपाल ‘ए’ का मयन यादव भने समावेश छैनन् । जय ट्रफी एलिट कपका दौरान औंलामा चोट बोकेकाले ‘ब्याटिङ क्लिनिक’ मा समावेश नगरिएको प्रवक्ता लामाले जानकारी दिए ।

