मणिमुकुन्द भलिबल क्लबले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप -२०८१ मा विजयी सुरुआत गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा बिहिबार भएको दोस्रो खेलमा मणिमुकुन्द रुकुमपश्चिमलाई ३-० को सोझो सेटमा पराजित गर्यो । मणिमुकुन्दले खेल २५–२१, २५-१५ र २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
बिहीबारै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले गुजरात प्रदेश भलिबल एसोसियसनविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो ।
प्रतियोगिताअन्तर्गत आजै हुने तेस्रो खेल नेपाल एपिएफ क्लब र गल्कोट भलिबल क्लबबीच हुनेछ ।
पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको छ । जसमा समुह एमा नेपाल पुलिस, मणिमुकुन्द भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् । समूह बिमा नेपाल एपिएफ क्लब, आर्मी, गल्कोट भलिबल क्लब र गुजरात प्रदेश भलिवल एसोसियसन, भारत छन् ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा विधाका उत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् ।
