सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन भोलि देखि सुरू हुँदैछ । २५औं संस्करणको यो प्रतियोगिता पोखराको हिमालयन गल्फ कोर्समा हुनेछ ।

५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरहरूले दाबेदारी प्रस्तुत गर्नेछन । माछापुच्छ्रे हिमालको मनमोहक दृश्य र विजयपुर नदीको किनारमा अवस्थित प्राकृतिक रूपमा आकर्षक हिमालयन गल्फ कोर्सलाई कठिन कोर्स मानिन्छ । त्यसैले प्रतिस्पर्धी गल्फरसँगै गल्फ कोर्सको चुनौती पनि खेलाडीहरूलाई रहनेछ । यो कोर्सलाई गल्फ डाइजेस्टले संसारकै रोमाञ्चक गल्फ कोर्सहरूमध्ये एक भनेर मूल्यांकन समेत गरेको थियो ।

यो संस्करणमा पुरस्कार राशी वृद्धि गरेर ८ लाख ८२ हजार बनाइएको छ । विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख र ७२ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने गल्फरहरूले पनि नगद हात पार्नेछन् ।

डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीसँगै, निरज तामाङ, धन थापा, सञ्जय लामा र जयराम श्रेष्ठलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ । गत संस्करण रेकर्ड स्कोरमा उपाधि जितेका भुवनले यो सिजन कुनै पनि उपाधि जित्न सकेका छैनन् । उनलाई यो सिजन पहिलो उपाधि जित्ने चुनौती समेत रहनेछ । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र सूर्य नेपाल सेन्ट्रल ओपनका विजेता राहुल विकेले भने यस पटक सहभागीता नजनाउने भएका छन ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्य नेपाल प्रा.लि. द्वारा प्रायोजित प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ । शनिबार प्रो-एम प्रतियोगिता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *