सदभावलाई एतिहासिक स्वर्ण पदक

२०८१, २७ पुष शनिबार १९:२७

नेपालका सदभाव आचार्यले ३८ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका छन् । सदभाव यो च्याम्पियनसिप जित्ने पहिलो नेपाली खेलाडी बने ।

च्याम्पियनसिपमा बङ्ग‌लादेशका शफिकुल इस्लाम र मोहम्मद शाहबुद्दिनलाई ६ स्ट्रोकले हराउँदै उनले उपाधि जितेका हुन् । उनी यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । सन १९८८ को दोस्रो संस्करण देखि नेपालले सहभागीता जानउँदै आएको थियो ।

उपाधि जित्ने सदभाव पहिलो नेपाली खेलाडी बने । ढाका स्थित कुर्मितोला गल्फ क्लबमा आज १-ओभर ७३ स्कोर बनाएका सदभावले समग्रमा ३-ओभर २९१ सहित उपाधि जिते । सदभावले फ्रन्ट नाइन २-ओभर ३८ मा पुरा गरे । पहिलो, दोस्रो र सातौं होलमा बोगी प्रहार गरे । आठौं होलमा एक सट बचाए । यसपछि १४औं र १८औं होलमा बर्डीको सफलता प्राप्त गरेपनि १५औं होलमा एक सट खेर फाले ।

उनले ब्याक नाइन १-अन्डर ३५ मा सकाए । उनले पहिलो र दोस्रो दिन समान ३-अन्डर ६९ को स्कोर गरेका थिए । तेस्रो दिन भने ८ ओभर ८० को प्रदर्शन गरेका थिए । तर अन्तिम दिन सम्हालिंदै उपाधि जिते । बंगलादेशका शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनले समग्रमा ९-ओभर २९७ को स्कोर सहित दोस्रो स्थान प्राप्त गरे । आज शफिकुलले १-ओभर ७३ र मोहम्मदले ३-ओभर ७५ मा खेल सकाए ।

बङ्ग‌लादेशकै मोहम्मद समिम समग्रमा ११-ओभर २९९ सहित चौथो भए । उनले आज इभन-पार ७२ को कार्ड बनाए । समग्रमा १२ ओभर ३०० बनाएका श्रीलंकाका चालिथा पुष्पिका पाँचौं स्थानमा रहे । उनले आज ६- ओभर ७८ को खराब प्रदर्शन गरे । नेपालका राहुल विकेले ६-ओभर ७८ को प्रदर्शन गर्दा समग्रमा १६- ओभर ३०४ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए । सदभावको लागि यो प्रतियोगिता विशेष बन्यो । उनले दुई स्वर्ण जिते । आज व्यक्तिगत तर्फ उपाधि जितेका उनले राहुल विकेसँग मिलेर टिम स्पर्धामा नेपाललाई इभन-पार २८८ स्कोरमा स्वर्ण दिलाएका थिए ।

यसअघि उनले ३६औं संस्करणमा सुबाश तामाङसँग मिलेर टिमतर्फ स्वर्ण हात पारेका थिए । लयमा रहेका युवा गल्फर सदभावले गत नोभेम्बरमा फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यु-२१ तर्फ पहिलो भएका थिए । समग्रमा भने उनले दोस्रो स्थान प्राप्त गरेका थिए । चार दिने प्रतियोगितामा नेपाल सहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कूल १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *