प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको छ । फाप्ला मैदान धनगढीमा शनिबार भएको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
खराब मौसमका कारण ढिला गरी सुरु भएको प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १८.१ ओभरमा ६७ रन बनाएर अल आउट भयो ।
सुदूरका लागि मनिषा बोहोराले २३ बलमा १७ रनको नटआउट पारि खेलिन् । उनले ३ चौका प्रहार गरिन् । यसैगरी कप्तान विन्दू रावलले २४ बलमा १७ रन बनाउँदा २ चौका हिर्काइन् । रेवती धामी र रितु कनौजीया ७ रनमा रनआउट भइन् । अन्य ब्याटरको प्रदर्शन विर्सनलायक रह्यो ।
एपीएफका लागि कविता जोशीले ३ विकेट लिँदा सबनम राई र इन्दू बर्माले दुई दुई विकेट लिए । यसैगरी करुण भण्डारीको नाउँमा १ विकेट रह्यो ।
६८ रनको लक्ष्य एपीएफले १२.५ ओभरमा १ मात्र विकेट गुमाएर पूरा गरेको थियो । एपीएफलाई जिताउन ममता चौधरीले ४३ बलमा ४३ रनको नटआउट पारि खेलिन् । उनले ५ चौका प्रहार गरिन् । यस्तै, कप्तान इन्दू बर्माले २० बलमा १८ रनको नटआउट पारि खेल्दा २ चौका प्रहार गरिन् । राजमति ऐरी ४ रनमा रनआउट भइन् ।
