काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११९औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको छ ।
अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा बिहीबार बसेको बैठकले कर्णाली प्रदेशमा हुने खेलकुदको लोगो र मस्कट पारित पारित गर्दै उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारण सभा अवैध भएको ठहर गर्दै आवश्यक प्रकृया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।
साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारण सभामा सहभागी राष्ट्रिय खेल संघले राखेप समक्ष पेश गरेको स्पष्टिकरण उचित कारण र आधार विना पेश गरेका संघका लागि थप आवश्यक प्रकृया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्य-सचिव टंकलाल घिसिङले जानकारी दिए ।
