काठमाडौं । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा माघ १५ देसख १८ गतेसम्म सञ्चालन हुने नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता करिब ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

आयोजक रेड टायल्सका प्रमुख सुरज केसीकाअनुसार स्कुलतर्फ आठ, कलेजतर्फ दुई तथा भेट्रानमा एक गरी कुल ११ स्पर्धालाई प्रतियोगितामा समावेश गरिएको छ । उनले भने, ‘आठौं संस्करणमा ३ सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपालि स्कुलको परीक्षाले प्रभावित भएकाले करिब ३ सय ५० खेलाडी सहभागि हुने अपेक्षा गरेका छौं ।’

भेट्रानलाई पहिलोपल्ट प्रतियोगितामा समावेश गरिएको हो, जसमा ४० वर्षमाथिको स्पर्धा राखिएको छ । भेट्रनका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपिया पाउनेछन् । कलेजतर्फ मेन्स सिंगल्स र लेडिज सिंगल्समा प्रतिस्पर्धा हुनेछ । स्कुलतर्फ ब्वाइज र गल्स दुवैमा यू १०, यू १२, यू १४ र यू १६ स्पर्धा समावेश गरिएको छ । स्कुलतर्फ दार्जिलिङ र बुटवलका खेलाडी पनि सहभागि हुने बताइएको छ ।

झण्डै चार लाख रुपिया बजेटको प्रतियोगिताबारे सुरज केसीले भने, ‘युवा खेलाडी उत्पादनका लागि हजुरबुबाको नाममा प्रतियोगिता सुरु गरिएको हो, यसलाई अझ बृहत् रुपमा निरन्तरता दिनेछौं ।’ राष्ट्रिय खेलकुद परिषदअन्तर्गत् टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले भने, ‘युवा खेलाडी उत्पादनका लागि कृष्णध्वज स्मृति प्रतियोगिता निक्कै महत्वपूर्ण सावित भएको छ । यो प्रतियोगिता धेरै खेलाडीका निम्ति आधार बनेको छ । यसपालि थप राम्रो हुने विश्वास छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *