पोखरा । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइलनमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३-२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२-२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५-२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३-२५ ले हार बेहोरेको थियो ।
तर, पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५-१२ जित निकाल्यो । पराजित भएको आर्मीले अब गण्डकी प्रदेश र भारतको सुनिल भलिबलबिचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
यसअघि शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो । पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटक न्यू डायमण्ड स्पोटर्स क्लबसँग प्रतिष्पर्धा गर्नेछन् ।
अब आजको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले आर्मीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।
