काठमाडौं । नेपाली यु-१९ टोलीले एकदिवसीय अभ्यास श्रृंखलामा हङकङविरुद्ध क्लिन स्विप गरेको छ ।
शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले हङकङलाई १३० रनले पराजित गरेको हो ।
नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले पुरै ५० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो ।
हङकङका लागि प्रित मोन्गुकीयाले ८७ बलमा सात चौकाको मद्दतले अविजित ५५ रनको योगदान गरे । यसैगरी अब्दुल समादले २३ र कप्तान शिव माथुरले १९ रन बनाए ।
नेपालक लागि अभिषेक तिवारी, अनुदिन राइनले समान दुई तथा सन्तोष यादव, राजेश बोहरा र दीपक सेरालाले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउदै २६५ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि सूर्यान्शु कोइरालाले ९६ बलमा आठ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । कप्तान अभिषेक तिवारीले ४१ बलमा चार चौका र दुई छक्काको मद्दतले ५६ रन बनाए ।
यसैगरी सन्तोष यादवले ४५ बलमा ६ चौका र एक छक्काको मद्दतले ५३, नरेन भट्टले ३६, सोहेल कुँवरले १३ र राजेश बोहराले ११ रन बनाए ।
हङकङका लागि ड्यानियल एम्प, पार्थ श्रीवास्तव, शायन पुरी र प्रित मोन्गुकीयाले समान दुई विकेट लिए ।
यो जितसँगै नेपालले तीन खेलको श्रृंखला ३-० ले आफ्नो पक्षमा पार्यो । यसअघि पहिलो खेलमा नेपाल ३ विकेट र दोस्रोमा २२६ रनले बिजयी भएको थियो ।
