काठमाडौं । ओपनर लाहिरु मिलन्थाको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो च्याम्पियन बनेको छ।

जनकपुरका लागि ओपनर मिलन्थाले ४३ ओभरमा ८ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ८७ रनको अर्धशतकीय योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि ओपनर सैफ जेबले ४३ बलमा ८ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६९ रनको अर्धशतकीय योगदान दिएका थिए ।

अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१, ब्रान्डन एमसीमुनेनले १२ बलमा १ छक्कासहित १४, हर्मित सिंहले ८ बलमा १ छक्काको सहयोगमा समान १४, स्कट कुग्गेलेइज्जनले १० बलमा २ चौकासहित १३ रन जोडेका थिए ।

बलिङमा जनकपुरला लागि किशोर महतो र मोहम्मद मोसिनले समान ३ तथा जेम्स निशम र ललित राजवंशीले १-१ विकेट लिएका थिए ।

गत मंसिर १५ गतेदेखि जारी एनपीएलमा यी दुई टोली तेश्रो पटक भिडेका हुन् । अघिल्ला दुवै भेटमा सुदूरपश्चिम विजयी हुँदा जनकपुर निरीह बनेको थियो । आजको जितसँगै जनकपुर अघिल्ला दुई खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

सुदूरपश्चिम क्वालिफायर-१ मा जनकपुरलाई नै ८ विकेटले हराउँदै फाइनलमा पुग्दा पुनः फाइनल पुग्न क्वालिफायर-२ खेल्ने मौका पाएको जनकपुर कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनलमा पुगेको थियो ।

एनपीएलको विजेता जनकपुरले ट्रफीसहित १ करोड १० लाख, उप-विजेता सुदूरपश्चिमले ५१, तेश्रो भएको कर्णालीले २५ र चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी एनपीएलको पहिलो संस्करणमा ७ प्रदेशका विभिन्न ८ टोली सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *