शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शानदार जित निकालेको छ । आइतवार राती भएको खेलमा लिभरपुललले वेस्ट ह्याम युनाइटेडविरुद्ध ५-० को फराकिलो जित निकालेको हो ।

वेस्ट ह्यामको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन लुइस डियाज, कोडी गाक्पो, मोहम्मद सलाह, ट्रेन्ट एलेक्जेन्डर-आर्नोल्ड र डिओगो जोटाले गोल गरे ।

डियाजले ३०औं मिनेटमा पहिलो गोल गरे । त्यसको १० मिनेटपछि गाक्पोले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ४४औं मिनेटमा सलाह गोल गरेपछि पहिलो हाफमा लिभरपुल ३-० ले अगाडि रह्यो । आर्नोल्डले ५४औं र जोटाले ८४औं मिनेटमा गोल गर्दै लिभरपुलको फराकिलो जित निश्चित गरे ।

लिभरपुलको १८ खेलबाट ४५ अंक पुगेको छ । दोस्रो स्थानको नटिङ्घम फोरेस्टको ३७ अंक छ। वेस्ट ह्याम १९ खेलबाट २३ अंकका साथ १३औं स्थानमा छ ।

अर्को खेलमा टोटनहम हट्स्पर र वुल्भ्सले २-२ को बराबरी खेल्दै अंंक बाँँडेका छन् ।

टोटेनहमका लागि रोड्रिगो बेन्टानकुर र ब्रेननान जोनसनले गोल गरे भने उल्भ्सका लागि ह्वाङ ही चान र जोर्गेन लार्सेनले गोल गरे ।

घरेलु मैदानमा टोटेनहमले खेलको सुरुआती मिनेटमै गोल खान पुग्यो । ह्वाङ ही चानले सातौं मिनेटमा गोल गर्दै टोटनह्यामलाई झट्का दिएका थिए । तर, गोल खाएको ५ मिनेटपछि नै रोड्रिगो बेन्टानकुरले बराबरी गोल फर्काउन सफल भए ।

त्यसपछि ४३औं मिनेटमा टोटनहमले पेनाल्टी पाएकोमा कप्तान ह्युङ मिन सनको प्रहार गोलरक्षकले बचाए । लगत्तै ६ मिनेटमै टोटनहम लागि ब्रेननान जोनसनले गोल गरेर टिमलाई अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा जोर्गेन लार्सेनले उल्भ्सका लागि गोल गर्दै खेल २-२ को बराबरीमा टुंगाए ।

बराबरीसँगै टोटनहम १९ खेलबाट २४ अंकका साथ ११औं स्थानमा छ भने उल्भ्स १६ अंकका साथ रेलिगेसनभन्दा एक स्थान माथि १७औं स्थानमा रहेको छ ।

आइतबार राती भएका अन्य खेलमा क्रिष्टल प्यालेसले साउथह्याम्पटनलाई २-१ ले हराउँदा नटिङघमले एभर्टनलाई २-० ले पाखा लगायो । यस्तै, फुलहम र बर्नमाउथले २-२ को बराबरी खेल्दै अंक बाँडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *