आरोहण शर्मा फुयाल, विराटनगर

इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानको एट्लान्टा बराबरीमा रोकिँदा दोस्रो स्थानको इन्टर मिलानले सहज जित हात पारेको छ ।

शनिबार राती भएको खेलमा एट्लान्टा घरेलु टोली लाजियोसँँग १-१ को बराबरीमा रोकिएको हो ।

खेलको २७औं मिनेटमा फिसायो डेले बशिरुले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ८८ औं मिनेटमा मार्को ब्रेसियानीनीले गोल गरेपछि एट्लान्टाले बराबरी गर्दै एक अंक लिन सफल भयो ।

लाजियोसँँग बराबरीमा रोकिए पनि १८ खेलमा ४१ अंकका साथ एट्लान्टा शीर्ष स्थानमा कायम रहँदा समान खेलबाट ३५ अंक बटुलेको लाजियो चौथों स्थानमा छ ।

त्यस्तै अर्को खेलमा इन्टर मिलानले क्याग्लियरीलाई ३-० ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

क्याग्लियरीको घरेलुु मैदानमा इन्टरलाई जित दिलाउन एलेसान्द्रो बस्तोनी, लुटारो मार्टिनेज र हकान काल्हानुग्लुले समान एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बरबरीमा सकिएको खेलको दोस्रो हाफमा सबै गोल सम्भव भएको थियो ।

खेलको ५३ औं मिनेटमा बस्तोनीले गोल गर्दै इन्टरलाई सुरूआती अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ७८औं मिनेटमा काल्हानुग्लुले पेनाल्टी मार्फत गोल गर्दै साविक विजेता इन्टरलाई ३-० को सहज जित दिलाए ।

जितसँगै इन्टरले १७ खेलबाट ४० अंक जोडेको भने पराजित क्याग्लियरी १४ अंंकका साथ रेलिगेशन क्षेत्रमा छ ।

शनिबार राती भएको लिगका अन्य खेलमा जेनोआले एम्पोलीलाई २-१ ले र पार्माले मोन्जालाई २-१ ले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *