चन्द्र पन्दाक, ताप्लेजुङ
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ चाँगेमा माघेनी मेलाको अवसरमा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय आँपपानी युवा क्लबको आयोजनामा अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको हो ।
आँपपानी युवा क्लबले सदरमुकाम फुङ्लिङमा शनिबार पत्रकार सम्मेलन गर्दै यही पुस २५ देखि माघ १ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । क्लबका अध्यक्ष प्रेमबहादुर लिम्बूले माघेनी मेलाको अवसरमा चाँगेको नेसुममा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
लिम्बूका अनुसार प्रतियोगिताका विजेताले एक लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । यस्तै उपविजेताले ५५ हजार ५११ रुपियाँ नगद पुरस्कारसँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सल्लाहकार उदय आङ्बुहाङले जानकारी दिनुभयो ।
