काठमाडौं । काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को एकल तर्फको उपाधि पुरुष एकल तर्फ सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले हात पारेका छन् ।
भारतिय खेलाडीहरुको दवदवा रहेको प्रतियोगिताको पुरुष एकलतर्फ सूर्यक्षले अंश नेगीलाई २१-१७, २१-१८ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।
यस्तै महिलातर्फ चौधरीले मेधावी नागरलाई २१- १७, २१-१६ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाएकी हुन् । पुरुषतर्फ साई प्रसाद तिगला र बिश्वजित चौधरी तथा महिलातर्फ ईशिता नेगी र दिया भिमैया संयुक्त कास्य पदकमा सिमित भए ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला युगल तर्फको उपाधी आन्या विष्ट र एन्जल पुनेराले हात पारे । उक्त जोडीले दिया भिमैया र बरुणी पर्सवाललाई २१- १४, २१-१८ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा ईशिता नेगी र भान्सिका ठाकुर तथा जेनिथ अब्बिगिल र तारिनी सुरीको जोडी रहे ।
पुरुष युगलतर्फ भाब्य छाबरा र परम चौधरीको जोडीले जित हात पार्दै उपाधी जिते । छाबरा र चौधरीको जोडीले दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीलाई २१-१७, २१-१५ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा दभ्यांश रावत र योगांश सिंहको जोडी तथा सी। लालरामसंग र सौरभ साहुको जोडी रहे।
मिक्स युगलतर्फ भाब्या छावरा र एन्जल पुनेराको जोडीले गर्भ सानी र ईशिता नेगीको जोडीलाई २१-१३, २१-१४ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाए । तेश्रो स्थानमा सौरभ साहु र प्रगती परिदा तथा बिजोन जैसन र आन्या बिष्टको जोडी रहे ।
बिजयी खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गरे । पाँचवटै विधाको सेमिफाईनलमा भारतिय खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको थियो । तीन दिने प्रतियोगितामा सहभागी ९९ खेलाडी मध्ये भारतका ६०, नेपालका १६, थाईल्याण्डका १०, युएइका ४, इरानका ३, न्युजिल्याण्डका २ तथा मलेसिया, अष्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका १-१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
