अफगानिस्तानले जिम्बाब्वेमाथि ऐतिहासिक जित दर्ता गर्दै तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला १-० ले अघि बढाएको छ ।

हरारेमा भएको दोस्रो एकदिवसीय खेलमा अफगानिस्तानले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेटको क्षतिमा २८६ रन बनायो । जवाफमा जिम्बाब्वे मात्र ५४ रनमै समेटियो । यो जित रनको हिसाबले अफगानिस्तानको सबैभन्दा ठूलो जित हो ।

यस खेलमा युवा ओपनर सेदीकुल्लाह अतलले पहिलो एकदिवसीय शतक प्रहार गरे । उनले १०४ रन बनाए भने अर्का ओपनर अब्दुल मलिकले ८४ रनको योगदान दिए । यी दुईले १९१ रनको ओपनिङ साझेदारी गर्दै अफगानिस्तानलाई बलियो सुरुआत दिलाए ।

अफगानिस्तानका नयाँ बलरहरूले जिम्बाब्वेको ब्याटिङ लाइनअपलाई पुरै ध्वस्त बनाए । फजलहक फारूकी र अजमतुल्लाह ओमरजाईले नयाँ बलको भरपुर उपयोग गर्दै सुरुवाती चार विकेट ११ रनमै झारे । त्यसपछि अफगानिस्तानका स्पिनर एएम गजन्फर र फास्ट बलर नविद जादरानले जिम्बाब्वेलाई समेट्न महत्त्वपूर्ण भूमिका खेले । गजन्फर र नविदले समान तीन-तीन विकेट लिए ।

जिम्बाब्वेका कप्तान क्रेग इर्विन ४ रनमै आउट हुँदा, शिन विलयम्सले १६ रनमा पभेलियन फर्किए । यसैगरी सिकन्दर रजा १९ रनमा नटआउट रहे । अरू ब्याटरहरूले कुनै उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । जिम्बाब्वेको बलिङमा पनि कमजोरी देखियो। नविन बलर न्युम्यान न्यामहुरीले ३ विकेट लिए पनि अन्य बलरले प्रभाव जमाउन सकेनन् ।

इब्राहिम जादरानको चोट र रहमतुल्लाह गुरबाजको अनुपस्थितिमा अवसर पाएका युवा ओपनरहरू अतल र मलिकले राम्रो प्रदर्शन गरे। सुरुमा केही समस्या झेले पनि उनीहरूले आफूलाई सम्हाल्दै नियमित रूपमा चौका-छक्का प्रहार गरे । अतलले ८१ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए भने मलिकले ६९ बलमा अर्धशतक बनाए ।

अतलले ४२औं ओभरमा आफ्नो शतक पुरा गरे। यो क्रममा उनले तीन छक्का र सात चौका प्रहार गरे । अन्त्यतिर जिम्बाब्वेका बलरहरूले केही विकेट लिएर अफगानिस्तानलाई रोक्ने प्रयास गरे पनि कप्तान हश्मतुल्लाह शाहिदी र मोहम्मद नबीले टोलीको स्कोर २८६ पुर्याए ।

यो जितसँगै अफगानिस्तानले श्रृंखला जित्ने मौका बलियो बनाएको छ । अब तेस्रो र अन्तिम खेल निर्णायक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *